महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि कार्तिक ७ पुनःमतगणना सफल भयो । उक्त मतगणना मा विपक्षी रमेश कुमार राय २६८ मत ल्याई विजयी भएका हुन । उता वडाध्यक्ष को चार वर्षे कार्यकाल चलाई सकेका अरुण कुमार चौधरी को हक़ मा २६६ मत पुनःमतगणना को परिणाम बाट आएको छ ।

पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात् सदर गरेपछि मतगणना भएको हो ।

अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।

०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो । राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याए । दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।

उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो ।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन ।अन्ततः दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।