पठान : मोदीको राष्ट्रवाद जोगाउन जासूस बनेका शाहरुख


काठमाडौं । बलिउड अब जासूसी ब्रह्माण्डका फिल्म बनाउन अग्रसरजस्तो देखिन्छ । ‘मिसन इम्पोसिबल’ र ‘जेम्स बण्ड’ले विश्व फिल्ममा छाडेका स्पाइ र स्टाइलको पदचापलाई मुम्बैया फिल्मले पछ्याउँदैछ । आज (बुधबार)देखि हलमा रिलिज भएको ‘पठान’ बलिउडमा स्पाइ युनिभर्सको परिकल्पना गर्ने यशराज ब्यानरको अर्को प्रयत्न हो ।

सलमान खानलाई ‘टाइगर’को रुपमा पेस गरेको यशराजले यसपटक शाहरुखलाई ‘पठान’को जासूसी अवतारमा उभ्याएको छ । ‘रोमान्सका राजा’ शाहरुखले अब एक्सन र स्पाइ फिल्ममा आफूलाई अघि बढाएका छन् । विश्वगुरु बन्ने बाटोमा हिंडेको नरेन्द्र मोदीको भारतले टाइगर र पठानजस्ता जासूसलाई उभ्याएर बलिउडमार्फत विदेश नीतिलाई संरक्षण गर्न सक्ला, यो महत्वपूर्ण प्रश्न हो ।

‘पठान’को केन्द्रमा कश्मीर छ । अब बलिउडको जासूसी ब्रह्माण्ड केन्द्रमा पनि भारत-पाक तनावको विषय बनेको कश्मीर मुख्य विषय बन्ने पक्का छ । ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’लाई बुझ्न हामीले भारतीय संविधानको धारा ३७० खारेज गर्ने मोदी सरकारको सन् २०१९ को निर्णयलाई बुझ्नुपर्छ । जम्मु र कश्मीरलाई दुई अलग राज्यको रुपमा मान्यता दिने उक्त निर्णयपछि पाकिस्तानले लिन खोजेको बदलाको कथामा पठान आधारित छ । समग्रमा यो एउटा बदला र प्रतिशोधको कथा हो ।

भारतले आर्टिकल ३७० खारेज गरेपछि क्रुद्ध बनेका पाकिस्तानी जनरल कादिर (मनिष बाधवा)ले हिन्दूस्तानसँग बदला लिन खोज्छन् । जिम (जोन अब्राहम) भारतसँग प्रतिशोध र चरम शत्रुता राख्ने एक खुङ्खार कट्टरपन्थी हुन् । कादिरले उनीसँग एक सम्झौता गर्छन् जसको ध्येय हिन्दूस्तानसँग बदला लिनु हो । रअकी हाकिम नन्दिनी (डिम्पल कपाडिया)ले यस बीचमा पेरिसमा एक रहस्यमय महिलाको झलक पाउँछिन्, जोसँग विगतमा उनको सम्बन्ध थियो । यसका लागि उनले पठान (शाहरुख खान)लाई भेट्ने निर्णय गर्छिन् ।

‘पठान’को गीत ‘बेसरम रङ’मा शाहरुख र दीपिका

जसरी हलिउडले पछिल्लो समय आफूलाई कर्पोरेट र स्टुडियोको संरचनामा उभ्याउन मार्भल सिनेम्याटिक र डीसी युनिभर्सको परिकल्पना गरेको छ, उसैगरी भारतले त्यसलाई पछ्याउन खोजिरहेको छ । तर बलिउडसँग कथाको समस्या छ र त ऊ पाकिस्तानलाई आफ्नो विदेश नीतिको प्रधान शत्रु देख्छ ।

त्यो पठान जो एक समय भारतको सबैभन्दा विश्वसनीय एजेन्ट थियो । तर अब ऊ बदलिएको छ । रोमान्टिक छवि र केटी भनेपछि हुरुक्कै हुने उसका कमजोरी हुन् । पठानको मद्दत लिएर नन्दिनीले पाकिस्तानी चिकित्सक तथा आईएसआई एजेन्ट रुबिना मोहसिन (दीपिका पादुकोण)लाई भेटाउँछिन् । भारतलाई जिमको चंगुलबाट मुक्त गर्न पठानको खाँचो छ र त्यो खाँचो रुबिनाले पूरा गर्न सक्छिन् । त्यसपछि फिल्ममा के हुन्छ त्यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

‘पठान’ एक्लो छैन, अब उसलाई सघाउन टाइगर पनि एकसाथ छ । कथामा शत्रुता र प्रतिशोध मात्र छैन, यसअघि जोया र टाइगरमार्फत भारत-पाक सम्बन्धमा बुन्न खोजेको बलिउडले यसपटक पठान र रुबिनाको लभस्टोरीको पटकथा बुनेको छ ।

पठानलाई एक मिसनमा खटाइएको छ । स्पेन पुगेर पाकिस्तानी जासूसलाई समात्नेदेखि मस्को पुगेर स्मल पक्स (बिफर)को भाइरसलाई निष्क्रिय तुल्याउनुपर्ने मिसन उसका सामु छन् । दुबईमा पाकिस्तानी आक्रमणको योजनालाई रोकेर राष्ट्रपतिलाई सुरक्षित तुल्याउनेदेखि अफगानिस्तानको पठारमा पुगेर दुश्मनलाई निस्तेज तुल्याउने जिम्मा उसलाई छ । तर पठानको यो संघर्षमा जिम र कादिर बाधक छन् । दुबईको रेलमाथि भएको एक्सन होस् या रुसको हिमाली भूगोल र बरफका ढिस्कामाथिको भागदौड, चिल्ला र आकर्षक एक्सन कोरियोग्राफीले दर्शकलाई रोमाञ्चक तुल्याउँछ । यी दृश्य हेर्दा डेनियल क्रेग र टम क्रुजले हलिउडका स्पाइ र एक्सन फिल्ममा गरेको खतरनाक एक्सनको सम्झना दिलाउँछ ।

निर्देशक समेत रहेका सिद्धार्थ आनन्दको कथामा ठूलो कुरा केही छैन । हामीले विगतमा बलिउड कथाको केन्द्रमा हेर्दै आएको भारत-पाक तनाव र संघर्ष यसको वरपर छ । तर पठानको अन्तर्य र बाह्य आयाममा दुई कुरा भिन्न महसुस हुन्छन् । कथाअनुसार यसपटक पाकिस्तान भारतसँग बन्दुकको लडाइँ गर्दैछैन । कथाको केन्द्रमा पाकिस्तान भारतसँग जैविक लडाइँ लड्दैछ । स्मल पक्स (बिफर)को भाइरस नयाँ दिल्लीमा फैलाएर त्राहिमाम बनाउने पाकको ध्येय देखिन्छ । यसका लागि भारतसँग खोप उपलब्ध छैन । भारतको यो कमजोरी बुझेरै पाकिस्तानले अस्त्रको ठाउँमा भाइरस फैलाउने रणनीति बुनेको छ, जसले हामीलाई कोभिड संकटको निकट अतीत पनि याद गराउँछ । पठानले बुनेको यो भाइरसको कथा चीनतर्फ पनि लक्षित रहेको बुझ्न कठिन छैन । भारतीय सञ्चारमाध्यमले पटक-पटक कोभिडलाई चिनियाँ भाइरसको रुपमा अथ्र्याउँदै आएका छन् ।

यसअघि ‘वार’ निर्देशन गरेका आनन्दले ‘पठान’लाई त्यस्तै मुड दिने प्रयत्न गरेका छन् । ‘लार्जर द्यान लाइफ’ शैलीमा बुनिएका चिल्ला एक्सन कोरियोग्राफी पठानको अर्को दर्शनीय पक्ष हो । खासगरी रुसको हिमाली क्षेत्रमा खिचिएका आकर्षक दृश्यले दर्शकलाई उद्देलित गराउन सक्छन् । श्रीधर राघवनको पटकथा अघिल्लो हाफमा केही धीमा छ तर दोस्रो भागले दर्शकलाई हास्य, थ्रिल, एक्सन र भावनाको स्पर्श गर्छ । दोस्रो हाफमा रहेका प्रशस्त कथानक घुम्तीले दर्शकलाई ‘इन्गेज’ गराउँछ । तर केही दृश्यले भने दर्शकलाई सहज हुन दिंदैनन् ।

पठानसँग खुकुलो पटकथा छ, जसले कथालाई कमजोर तुल्याएको छ । हाफटाइमपछि मात्र फिल्म मूलकथामा प्रवेश गर्छ । टाइम एण्ड स्पेस, द्वन्द्व र चरित्रलाई स्थापना गर्न निर्देशकले पहिलो हाफमा धेरै पहेली बुनेका छन्, जसले दर्शकलाई इन्गेज हुन दिंदैन । अफगानिस्तानसहितका केही क्लाइलेक्सका उपकथाहरु प्रक्षेपित लाग्छन् । जब फिल्म मूलकथामा प्रवेश गर्छ, तब यसले लिने गतिले दर्शकलाई रोमाञ्चक तुल्याउन सक्छ । तपाईं, अन्तर्राष्ट्रिय स्पाइ जनराका फिल्मसँग अभ्यस्त हुनुहुन्छ भने पठान तपाईंका लागि योग्य हुनसक्छ । एक वाक्यमा भन्दा पठान बलिउडले निर्माण गर्ने ड्रामा, थ्रिलर, एक्सन र रोमान्सको एक प्याकेज हो, जसमा तपाईंले सबै तत्वहरु भेट्नुहुन्छ ।

‘पठान’को एक दृश्यमा शाहरुख र सलमान

शाहरुख एक्सन, स्टाइल र हास्य सन्दर्भमा ‘पर्फेक्ट’ छन् । तर जोन अब्राहम उनीभन्दा अब्बल ‘एन्टागोनिस्ट’ हुन् । शाहरुख भर्सेस जोनको स्क्रिनमा ‘म्याचो’ उपस्थितिले दर्शकलाई रमाइलो तुल्याउन सक्छ । एक्सन र रोमान्टिक जासूसको रुपमा दीपिका छिन् । अर्को अर्थमा, पठान सलमान खानको झण्डै १५ लामो केमियो पनि हो । टाइगर र पठानजस्ता दुई बलिउड जासूसको उपस्थितिले स्टारडमको गुरुत्वाकर्षण बढाएको छ । फिल्मको ‘रिजोलुसन’ले यशराज फिल्म्सको स्पाइ युनिभर्स कतातिर जाँदैछ भन्ने प्रस्तुत गर्छ ।

एउटा गीत ‘बेसरम रङ’को कम्पोजिसनको उद्देश्य राजनीतिक लफडाबाजी गर्नु हो वा होइन, त्यो थाहा भएन, तर पठानका लागि यो महत्वपूर्ण सन्दर्भ हो । जसले भारतीय र पाकिस्तानी जासूसका पात्रलाई जोड्ने साँधको काम गरेको छ । छायांकनले मुड सिर्जना गर्छ । भीएफएक्स, ब्याकग्राउण्ड स्कोर, पाश्र्वगीत, सम्पादन र कस्ट्युम पक्ष प्रशंसनीय छन् ।

विषयगत रुपमा पठान किन अर्थपूर्ण छ भने रोहित सेट्टीको ‘कप्स युनिभर्स’, होम्बेल फिल्म्सको ‘केजीएफ युनिभर्स’पछि भारतको प्रतिष्ठित फिल्म कम्पनी यशराजले ‘स्पाइ युनिभर्स’को प्रारम्भ गरेको छ । जसरी हलिउडले पछिल्लो समय आफूलाई कर्पोरेट र स्टुडियोको संरचनामा उभ्याउन मार्भल सिनेम्याटिक र डीसी युनिभर्सको परिकल्पना गरेको छ, उसैगरी भारतले त्यसलाई पछ्याउन खोजिरहेको छ । तर बलिउडसँग कथाको समस्या छ र त ऊ पाकिस्तानलाई आफ्नो विदेश नीतिको प्रधान शत्रु देख्छ । खासगरी भारतीय सत्तामा आफूलाई हिन्दूवादी पार्टीको रुपमा उभ्याउन खोजिरहेको मोदीको भारतीय जनता पार्टी (भाजपा)को सत्तारोहणपछि बलिउडको कथावस्तु पनि सोहीतर्फ अग्रसर हुन थालेका छन् ।

शाहरुख, दीपिका, सलमान र जोन अब्राहमको उपस्थितिलाई बिर्सने हो भने पठान एक ‘मास इन्टरटेनर’ फिल्म हो । जसमा एक्सन, इमोसन, देशभक्ति, हास्य, थ्रिल सबथोक मिसिएका छन् । रिलिजपूर्व पठान र शाहरुख खानलाई लिएर भारतमा गरिएका विवादको औचित्य छैन । हालै भारतीय म्यागजिन ‘क्याराभान’ले शाहरुख खानको श्यामश्वेत तस्वीरसहितको कभर स्टोरी छापेको थियो । भारतीय लोकतन्त्रका रङहरु पछिल्लो समय मेटिंदै गएकोमा चिन्ता जनाउँदै उक्त म्यागजिनले शाहरुखलाई ब्ल्याक एण्ड ह्वाइट रुप दिएको थियो । सम्भवतः शाहरुखलाई बलिउडका अन्तिम सुपरस्टार पनि भनिएको छ ।

पछिल्लो समय भारतीय विदेश नीतिको सफ्टपावरको रुपमा चित्रण भइरहेको ‘बलिउड’ र ‘पठान’ रिलिजबीच एउटा ‘चाँदीको घेरा’ छ । यसपटक शाहरुख असफल हुँदा बलिउड असफल हुनेछ । उनलाई असफल हुने छुट छैन । हुनसक्छ यही कारण चार वर्षपछि रिलिज भएको शाहरुखको मेगाबजेटको ‘पठान’ तपाईंका लागि धेरै कारणले दर्शनीय हुन सक्छ ।