अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ।

अब देखि काउन्सिलले एमबीबीएस र बिडिएस पछि लिइने लाइसेन्स परीक्षामा लिखितसंगै प्रयोगात्मक (सीप परीक्षण) सम्बन्धी परीक्षा पनि लिने व्यवस्था गरेको हो।

काउन्सिलले एक पत्रकार सम्मेलन गर्दै २ बर्षभित्र गरेको काम समेत सार्वजानिक गरेको छ।

प्रयोगात्मक परीक्षाको लागि काउन्सिलले कार्यविधि समेत बनाइसकेको छ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार अबदेखि एमबीबीएस पछि लिइने लाइसेन्स परीक्षामा लिखित पास भएपछि र उत्तीर्ण भएकाले पुन प्रयोगात्मक परीक्षा दिनुपर्ने हुन्छ।

‘एमबीबीएस र बिडिएसले जानुपर्ने न्युनतम सीपको लिष्ट तयार पारेका छौं। प्रयोगात्मक अभ्यासका ६० वटा विधा राखिनेछ। त्यसमध्ये विद्यार्थीले १० वटा विषयमा प्राक्टिकल गनुपर्ने हुन्छ। यो प्राक्टिकलमा ८० प्रतिशत ल्याउने मात्रै उत्तीर्ण हुन्छ,’ डा. अधिकारीले भने।

काउन्सिलको ऐनमै चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन सक्छ भन्ने उल्लेख गरिएको छ।

काउन्सिलले अहिलेसम्म लिखित मात्रै लिदै आएको छ।

काउन्सिलको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानसँग सम्झौता गर्न लागेको छ।

‘काउन्सिलबाट लाइसेन्स भएका प्राप्त चिकित्सक सीपयुक्त हुनेछ। जनतालाई सेवा गुणस्तरीय दिने लागि प्रयोगात्मक परीक्षाको व्यवस्था गर्न लागेको हौं,’ उनले भने।