महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र अमानवीय व्यवहार गरिएको छ।

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र अमानवीय व्यवहार गरिएको छ।

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र उनकी ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो। महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटियो, मलमूत्र कोच्याइयो

स्थानीयका अनुसार साँझ सवा ६ बजे केही महिला भेला भएर दुवै जनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गराएको छ।

पीडित पुरुषका बायाँ आँखा र खुट्टामा चोट लागेको छ। घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले  जानकारी दिए।

उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए।

पीडित र पक्राउ परेकालाई आज जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ल्याउन लागिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यसअघि दसैंमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या नै गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो।