अस्ट्रेलियामाथि इंग्ल्याण्ड हाबी, सेमिफाइनल नजिक

अस्ट्रेलियामाथि ८ विकेटको सहज जीत निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपमा सेमिफाइनल नजिक पुगेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्र ११.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको यो लगातार तेस्रो जीत हो । समूह १ मा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा अस्ट्रेलियाको यो पहिलो हार हो ।

इंग्ल्याण्डलाई जीत दिलाउन जोस बटलरले विष्फोटक पारी खेले । उनले नटआउट रहँदै मात्र ३२ बलमा ७१ रन बनाए । यस क्रममा उनले ५ छक्का र ५ चौका हिर्काए । उनलाई २२ रन बनाउँदै जेसन रोयले राम्रो साथ दिए । जोनी बयरस्टोले १६ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया इंग्ल्याण्डको घातक बलिङ सामु निरीह देखिएको थियो । ५१ रनमा अस्ट्रेलियाले ५ विकेट गुमाइसकेको थियो । कप्तान एरोन फिन्चले ४४ रन तथा एस्टान अगारले २० रन र म्याथ्यु वेडले १८ रनको योगदान दिएपछि अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ बनायो । अस्ट्रेलियालाई सस्तोमा समेट्न क्रिस जोर्डनले ३ तथा क्रिस वोक्स र टाइमल मिल्स २–२ विकेट लिए ।